प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा यसको सांस्कृतिक महत्व उजागर हुने बताउनुभएको छ । हिन्दुहरुको महान् पर्व दीपावलीको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘हिन्दु नेपालीहरुको दोस्रो महान् पर्व दीपावली एवं तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी, दाजु भाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
चाडपर्वको नेपाली समाजमा बहुआयामिक महत्व रहेको भन्दै मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशमा पारिवारिक मिलन र सामाजिक सद्भावका लागि चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ । ‘सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सुत्रमा बाँधेर समाजलाई गतिशील बनाउनु हाम्रा चाडपर्वका विशेषता हुन् । तिहारले पनि पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ’, मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशमा भनिएको छ, ‘तिहारको मौलिकता जोगाउँदै अघि बढ्न सक्दा यसको सांस्कृतिक महत्व उजागर हुन्छ ।’
नेपालीको मौलिक पर्व तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा नयाँ पुस्ताप्रति न्याय हुने भन्दै पोख्रेलले परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृति बोकेर आइरहनु नेपाली समाजका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । ‘अहिले पर्वमा तडक भडक बढ्न थालेको छ । सामाजिक मूल्यमान्यतालाई जोगाउँदै तडकभडक गरेर नभई मौलिक ढंगले चाडपर्व मनाउन ध्यान दिनुपर्छ’, मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशमा भनिएको छ, ‘तिहारमा जुवातास खेलेर सम्पत्ती वर्वाद गर्ने र पारिवारिक जीवन खण्डित पार्ने प्रवृत्ती नेपाली समाजका लागि घातक छ ।’
पटका पड्काउने क्रियाकलापले बालबालिकामा दुर्घटनाको जोखिम बढेको भन्दै मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशमा भनिएको छ, ‘तिहारमा जुवातास खेल्ने र पटका पड्काउने क्रियाकलापलाई निरुत्साहित गर्न राज्यले चाल्ने कदममा सबैले सहयोग गरौं, सभ्य र सुसंस्कृत समाजनिर्माणका लागि एकताबद्ध भई अघि बढौं ।’
मुख्यमन्त्री पोख्रेलले तडकभडकपूर्ण नभई तिहार पर्व मौलिक पहिचान जोगाउँदै पारिवारिक मिलन र सामाजिक सद्भावका रुपमा मनाउन समस्त प्रदेशवासीमा अपील गर्नुभएको छ । संविधानको सफल कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढेको भन्दै मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ’, मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशमा भनिएको छ, ‘त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छांै । यो लक्ष्यलाई साकार पार्न सबै एकताबद्ध भई अघि बढ्न आवश्यक छ । समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आमनागरिकमा हार्दिक अपील गर्दछु ।’