सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त ।। ७६ वर्षिय यादव प्रदेश पाँचको प्रमूख

वाणगंगा अनलाईन कात्तिक १९

सातवटै प्रदेशमा प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले सोमबारै बसेको मन्त्रिरिषद् बैठकको सिफारिसमा सातै प्रदेशमा प्रमुख नियुक्ति गरेकी हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको जनाइएको छ। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश १ मा कास्कीका सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख भएका छन् । यसैगरी प्रदेश २ मा बाँकेका तिलक परियार नियुक्त भएका छन्। प्रदेश ३ मा झापाका विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा चितवनका अमिक शेरचन प्रदेश प्रमुख बनेका छन्। प्रदेश ५ मा सिरहाका धर्मनाथ यादवले प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्। कर्णाली प्रदेशमा बैतडीका गोविन्दप्रसाद कलौनीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिम प्रदेशमा चितवनकी शर्मिला कुमारी पन्तलाई राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्। नवनियुक्त सातै प्रदेश प्रदेश प्रमुखहरुको सपथग्रहण मंगलबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयले मंगलबार बिहान ८ बजे सबै प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइने तयारी गरेको छ।
यसैबिच प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त भएकी छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आज बसेको सचिवालयको बैठकले नयाँ प्रदेश प्रमुखको नाम टुङ्गो लगाएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेश प्रमुखको नाम निक्र्योल गरेपछिलगत्तै मन्त्रिपरिषद्को बैठक बसेको थियो। राष्ट्रपति भण्डारीले आइतबार तत्कालीन सात वटै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्। नेकपाले पूर्वउपप्रधानमन्त्री तथा राजनीतिक व्यक्तित्वलाई प्रदेश प्रमुखमा छनोट गरेको हो। आलङ्कारिक र संवैधानिक पदमा विशेष गरी पूर्वप्रशासकलाई प्राथमिकता दिइँदै आएकामा यसपटक भने कम्युनिस्ट पार्टीका पुराना नेतालाई जिम्मा दिइएको हो। नवनियुक्त प्रदेश प्रमुखमा राजनीतिक व्यक्तित्वलाई प्राथमिकता दिएर उनीहरूलाई सम्मान गरिएको नेकपाको दाबी छ। त्यसो त नेकपाले आफ्नो घर पायक प्रदेशभन्दा अन्य प्रदेशको प्रमुख बनाएर नयाँ सन्देशसमेत दिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिरहाका धर्मनाथ यादवलाई ५ नम्बर प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको छ ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादव यस क्षेत्रका इमान्दार नेताको रुपमा चिनिनुहुन्छ । नेकपा एमाले गठनपश्चात नै एमालेमा सक्रिय रहँदै आएका उहाँ सत्तारुढ नेकपाका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

२००० सालमा सिरहाको सुखिपुर नगरपालिका–६, खरही टोलमा जन्मेका यादवले सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु भएको थियो । उहाँले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भएको छ । उहाँका एक छोरा र छोरी छन् । श्रीमतीको ३ वर्ष अघि नै मृत्यु भइसकेको छ ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै सक्रिय छु, प्रदेश प्रमुखमा नियुक्त भएसँगै जनतामा राजनीतिप्रतिको आस्था पुनः जागेको छ ।’ उहाँको नियुक्तिमा विपक्षीले समेत पार्टीले सही निर्णय गरेको भन्दैस्वागत गरेका छन् ।

निरन्तर राजनीतिमा सक्रिय रहेका यादव २०३७ सालमा ३ महिना जेल पर्नु भएको थियो । सरकारी कामकाजमा आँच पुर्‍याउने गतिविधि गरेको आरोपमा उहाँलाई जेल हालिएको थियो । त्यसपछि पनि उहाँ शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहँदै आउनु भएको थियो ।

२०४६ को प्रजातन्त्रको पुनर्वहालीपछि उहाँ २०४८ को आम चुनावमा उम्मेदवार बन्न शिक्षण पेशाबाट दिनु भएको थियो । २०२७ सालदेखि २०४८ सम्म शिक्षण पेशामा रहेका उहाँले पार्टीकै निर्देशनमा राजीनामा दिई सिरहाको तत्कालीन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएको थियो । त्यसपछि पनि यादवले ५१ को मध्यावधि चुनावमा भाग लिए पनि पराजित हुनु भएको थियो ।

राजनीतिमा लागेर सम्पत्ति र जागिर गुमाए पनि उहाँ आफ्नो राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन् । उनकै समकक्षी रामजी यादवले उमेर र आर्थिक अवस्था कमजोर भएपनि उहाँको पार्टीप्रतिको निरन्तरता भने इमान्दारिताको उदाहरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी राजनीतिकै कारण उहाँँले छोरा–छोरीलाई राम्रो शिक्षा दिन पाउनु भएन, जागिर छोड्नुभयो, भएको सम्पत्ति पनि बेच्नुभयो । तर पनि पार्टीप्रतिको उहाँको आस्था र निरन्तरता बेजोडको छ ।’

यादव आफैले भने पार्टीले प्रदेश प्रमुखजस्तो गरिमामय पदमा आफ्नो नाम सिफारिस गरेर आफ्नो उचित मूल्याङ्कन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले राजनीतिमा लागेर नाम कमाएँ तर आफ्नै जग्गा जमिन बेचेँ र भएको जागिर छोडेँ, तर आज पार्टीले सही समयमा मूल्याङ्कन गरेको महसुस भएको छु ।’

सरल र सहज स्वभावका यादवले पार्टीमा लागेर मान्छेको जीवन सकिन्छ भन्ने छाप परेका जनसमुदायमा पनि आफ्नो नाम सिफारिसले नयाँ ऊर्जा थपेको पनि बताउनुभयो ।
सोमबार बिहानसम्म प्रदेश प्रमुखको सिफारिसबारे कुनै जानकारी नभएका यादव गाउँमै हुनुहुन्थ्यो । बिहान १० बजेतिर केही नेताहरुले प्रदेश प्रमुखको नाममा छलफल भएको सुनाएपछि मात्र आफ्नो नाम सिफारिस भएको सूचना पाएको यादवले जानकारी दिनुभयो ।

गाउँमा रहेका यादव सूचना पाएपछि गोलबजार आउनु भएको थियो । गोलबजारमा केहीबेर बसेपछि उहाँ पार्टीका नेताहरुले बोलाएको भन्दै सोमबार नै काठमाण्डौ जानु भएको छ ।

उहाँ प्रदेश प्रमुखमा सिफारिस भएपछि आफन्त र राजनीतिक सहकर्मीहरुको बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ धर्मकान्त यादवसँगै सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...