दरबन्दीभन्दा धेरै कर्मचारी समायोजन‚ हाजिर गर्न नपाएको गुनासो

कात्तिक २० 

कर्मचारी समायोजनपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा दरबन्दी भएका सिनियर अहेब अधिकृत गोरखनाथ योगी बिहान ठिक १० बजे कार्यालय पुग्ने गर्नुहुन्छ। कार्यालय समयभर उपमहानगरको कार्यालय परिसरमै बस्नुहुन्छ। तर, उहाँले अहिलेसम्म हाजिरी गर्न पाउनुभएको छैन ।

योगीजस्तै समायोजनपछि उपमहानगरमा हाजिरी हुन आएका सिनियर अहेब अधिकृत कृष्ण केसीको पनि दैनिकी यस्तै छ। उहाँ समायोजन भई रमाना लिएर नेपालगन्ज उपमहानगरपालिकामा आउनुभएको हो। तर, दरबन्दीभन्दा धेरै स्वास्थ्यकर्मी कार्यालयमा आएको भन्दै उहाँले पनि हाजिर गर्न पाउनु भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर्मचारी प्रशासन शाखाले हाजिर गराउन भनी नेपालगन्ज उपमहानगरपालिकालाई पत्र पठाए पनि दरबन्दीभन्दा बढीलाई खटाएपछि हाजिरी हुन नपाएको केसीले गुनासो गर्नभयो । रमाना लिएर आएका स्वास्थ्यकर्मीहरु बस्ने ठाउँसमेत नपाएको उहाँको भनाइ छ।

नेपालगन्ज उपमहानगरपालिकामा सिनियर अहेब अधिकृत छैठौँ तहका लागि १२ जनाको दरवन्दी छ। तर, स्वास्थ्य मन्त्रालयले २२ जनालाई पठाएको छ। हाजिरी हुन आएका १० जना स्वास्थ्यकर्मीको काम गर्ने ठाउँको टुंगो नलाग्दा आफूहरु कामविहीन भएको केसीले बताउनुभयो।

मन्त्रालयले नेपालगन्ज उपमहानगरपालिकामा समायोजन भएकाको नाम सार्वजनिक गरेपछि स्वास्थ्यकर्मीहरु रमाना लिएर हाजिरी हुन आएका थिए।

सिनियर अहेव अधिकृत केसी भन्नुहुन्छ, ‘समायोजन र रमानाको कागजात बोकेर उपमहानगरमा हाजिर हुन आयौँ, तर यहाँ दरबन्दीभन्दा धेरै भएको भन्दै हाजिरी नगराउँदा कामविहीन भएका छौँ।’ हाजिर हुन नपाएका स्वास्थ्यकर्मीले स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाए पनि समस्या समाधान नभएको योगी बताउनुहुन्छ।

उहाँले काम गर्ने वातावरण मिलाई दिन आग्रहसहितको ज्ञापनपत्र मन्त्री यादवलाई बुझाए पनि हाजिरी हुने वातावरण तयार नभएको उहाँको भनाइ छ। उहाँले हाजिरी हुन नपाएपछि कामविहीन भएको अवगत गराउँदै तलब सुनिश्चित गरी पत्र पठाई दिन आग्रह गर्दासमेत कुनै निकास ननिस्किएको बताउनुभया।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेलले दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई तलव खुवाउन रकम नभएको बताउनुभयो। तलब खुवाउने स्रोत नभएकै कारण छैटौँ तहका स्वास्थ्यकर्मीलाई हाजिरी गराउन नसकिएको उहाँको दाबी छ।

प्याकुरेलले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब खुवाउन रकम नभएको र रकम सुनिश्चितसहितको परिपत्र स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुनासाथ हाजिरी गराएर कामकाजमा खटाउने बताउनुभयो। नेपालगन्ज उपमहानगरपालिकाले कात्तिक ३ मा कर्मचारीको तलबका लागि बजेट सुनिश्चित गरिदिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...