बङ्गलादेशका राष्ट्रपति आज नेपाल भ्रमणमा आउँदै

कात्तिक २६

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मंगलबार नेपाल भ्रमणमा आउदै हुनुहुन्छ । चारदिने नेपाल भ्रमणको शिलशिलामा हमिद आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

परराष्ट्रले जारी गरेको भ्रमण तालिका अनुसार हमिद १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने छ र त्यसपछि उहाँ केही बेरका लागि म्यारिएट होटलमा आराम गर्नुहुने जनाइएको छ ।

उहाँले आजै भक्तपुर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ भने भोलि राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्नुहुने छ । भोलि नै उहाँको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

उहाँ बिहीबार ११ः३० बजे सेनाको हेलिकोप्टरबाट पोखरा जानुहुने कार्यक्रम छ भने पोखराको फेवातालमा पनि जाने कार्यक्रम छ। बिहीबार काठमाडौँ फर्के पछि उहाँ शुक्रबार अपरान्ह ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसैबीच, नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा तीन दशकपछि बंगलादेशबाट यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो। हमिदको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि राष्ट्रपति हमिदले भेटवार्ता गर्ने जनाइएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...