सभामुखबारे नेकपाले अझै निर्णय गर्न सकेन ।। दुई अध्यक्षबिच आज छलफल हुँदै

पुस १५

सत्तारुढ नेकपाले सभामुख चयनका लागि अझै निर्णय गर्न सकेको छैन। नेकपा भित्र सभामुख पूर्व एमाले वा पूर्व माओवादी कसले लिने भन्नेमा नेताहरू अझै सहमतिमा पुग्न सकेका छैनन्।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच यस विषयमा सोमबार पनि छलफल भएन। श्रोतका अनुसार दुई अध्यक्षबिच आज मंगलबार यस विषयमा छलफल हुँदैछ। सभामुखमा पूर्व एमाले र पूर्व माओवादी दुबै पक्षले दावी गर्दै आएका छन्।

प्रधानमन्त्री केपी ओलीले पूर्व सभामुख एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने पूर्व माओवादी पक्षधरले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अगाडि सारेका छन्।

पूर्व माओवादी पक्षधर नेताहरुले सभामुख नछाड्न प्रचण्डलाई दबाब दिइरहेका छन्। उनीहरुले प्रचण्ड निवास खुमालटार पुगेर सभामुख आफुहरुले नपाएमा पार्टीभित्रको आन्तरिक सन्तुलनमा समस्या आउने चेतावनी दिने गरेका छन्।

खुमलटार पुगेका नेताहरुलाई अध्यक्ष प्रचण्डले सभामुख छाड्नेबारे संकेतसम्म पनि नगरेको एक नेताले बताए। कै कारणले पुस ११ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पुस १६ गते बस्नेगरी सूचना टासेर स्थगित भएको थियो।

पुस १६ गते बस्ने बैठकका लागि छलफल गर्न उपसभामुख शिवमाया तुम्बाहाङफेले मंगलबार सचेतकहरुको बैठक बोलाउने तयारी गरेको संसद सचिवालय श्रोतले जानकारी दिएको छ।

उपसभामुख शिवमाया तुम्बाहङफेले सभामुखमा आफ्नो स्वभाविक दाबी रहने बताउँदै आएकी छन्। पुस १६ गतेसम्म सभामुखको उम्मेदवार तय हुनेगरी छलफल भएको नेकपाका महासचिव विष्णु पौडेलले बताए।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...