पाल्पाको एतिहासिक ‘लक्ष्मीनारायण मन्दिर उचित प्रसार प्रचार नहुँदा ओझेलमा

२१ पुष

रामपुर र आसपासको इतिहासको साक्षीजस्तै रहेको ‘लक्ष्मीनारायण मन्दिर’ को उचित प्रसार प्रचार नहुँदा ओझेलमा परेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको किनारामा अवस्थित ऐतिहासिक सो मन्दिरमा त्रेतायुगमा रामचन्द्र बसेको किंवदन्ती यहाँ रही आएको छ । यो मन्दिर पाल्पा जिल्लाका अति प्राचीन तथा ऐतिहासिक मन्दिर भित्र पर्दछ ।

विसं १८७० तिर स्थानीय तुल्सीराम रेग्मीलाई श्रीरामले सपनामा ‘रामघाट क्षेत्रमा लक्ष्मीनारायणको मन्दिर स्थापना गरी पूजा गर्नु’ भन्नुभएछ । यसपछि रेग्मीले विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको यहाँका बुढापाका बताउँछन् रामघाट क्षेत्र पौराणिककालदेखि नै पवित्र धार्मिक तीर्थस्थलको रुपमा परिचित छ ।

रामचन्द्रले त्रेता युगमा बनवासको क्रममा रामघाटमा स्नान गरेको, ऋषिमुनि बोलाइ यज्ञ गरेको तथा नजिकैको रामगुफामा बसोबास गरेको आधारमा यस क्षेत्रलाई पवित्र तपोभूमिका मानिन्छ । द्वापर युगमा पाण्डवहरु पनि यही ठाउँमा स्नान गरेको, शुक्लागण्डकीको पानी कृष्णा गण्डकीको रामघाटमा ल्याउन तनहुँको भीमादमा बाँध बाँधेको र शिवजीको वाणको सहयोगबाट जल आउने गरेको पुराणमा उल्लेख पाइन्छ ।

पौराणिककालदेखि तीर्थालु आई स्नान तथा यज्ञादी गर्दै आएता भनिएतापनि करिव २०० वर्ष अगाडि लक्ष्मीनारायणको मन्दिर बनाई गुठी राखिएको यहाँ रहेको विसं १८८९ को सनतबाट पुष्टि हुन्छ । विस २०७२ विनासकारी भूकम्पले मन्दिरलाई क्षतिग्रस्त बनाएको थियो ।

ऐतिहासिकता र धार्मिक महत्वलाई उजागर गर्ने गरी पुनःनिर्माण बढाइएको छ । लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले पुरानै शैलीमा लक्ष्मीनारायणको मन्दिर पुन निर्माण अगाडि बढाइएको जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...