छोटो अवधिमा सरुवा भए वाणगंगाबाट सापकोटा

पुष, २३ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिकामा तीन महिना सेवा प्रवाह गर्न समेत नपाउँदै प्रमूख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको आकस्मिक सरुवा भएको छ । सापकोटा गत असोज २७ गते वाणगंगा नगरपालिकामा हाजिर हुनुभएको थियो । उहाँको सरुवाले धेरैलाई आश्चर्यमा पारेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट बाणगंगामा आउनु भएका सापकोटाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको नगर प्रवक्ता विष्णु पौडेलले बताउनुभयो । उहाँको यो आकस्मिक सरुवाको कारण भने खुलाइएको छैन र अब वाणगंगा नगरपालिकामा प्रमूख प्रशासकिय अधिकृतको रुपमा को कहाँबाट आउने भन्ने पनि कुनै जानकारी बाहिर ल्याइएको छैन ।
सापकोटालाई नगरपालिकाले विदाई समेत गरिसकेको छ भने नयाँ आउने अधिकृतको स्वागतको पर्खाइमा पालिका सदस्यहरु पर्खिएर बसिरहेका छन् । आज नगरपालिकामा एक कार्यक्रम आयोजना गरी सापकोटाको विदाई गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, शिक्षा शाखा प्रमूख बाबुराम भट्टराई, वडाध्यक्षहरु तथा नगरपालिकाका विभिन्न शाखाका प्रमूख सँगै कर्मचारीको सहभागितामा उहाँको विदाई गरिएको हो । विदाई कार्यक्रममा सापकोटाले छोटो अवधिमा बाणगंगाबाट धेरै कुरा सिक्न मौका पाएको भन्दै नगरपालिकामा धेरै काम गर्ने रहर हुँदा हुँदै पनि आफूले गर्न नपाएको बताउनुभयो । सापकोटाले आफूलाई सबैबाट साथ र सहयोग प्राप्त भएको पनि सुनाउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...