चार महिना पछि प्रदेश ५ को हिउँदे अधिवेशन सुरु

माघ ५, बुटवल

चार महिनापछि प्रदेश ५ को हिउँदे अधिवेशन अन्ततः आइतबारबाट सुरु भएको छ । सरकारले विजनेश दिन नसक्दा सुरु हुन नसकेको पाँचौं अधिवेशन प्रदेशको नाम र राजधानी टुंग्याउने नैतिक दवावका बीच सुरु भएको हो। आइतबार दिउँसो १ बजेदेखि सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेश सांसदले प्रदेशको नामकरण र राजधानीकै विषयलाई जोड तोडका साथ उठान गरे। यद्यपि, नाम र राजधानीका विषयमा संसदीय विशेष उपसमितिले तयार पारेको प्रदेशको नामकरण र राजधानीबारे सुझाव प्रतिवेदन संसदमा प्रस्तुत भएन । बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निर्मला क्षत्रीले हिँउदे अधिवेशनबाटै प्रदेशले स्थायी राजधानी र नामको टुंगो लगाउन आग्रह गरिन्। प्रदेशको नामकरण र राजधानीको विषयलाई अनीर्णयको बन्दी बनाउन नहुने उनको तर्क थियो । त्यस्तै प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले नाम र राजधानीका लागि केन्द्रको मुख ताक्नु संबैधानिक नहुने बताए। नामकरण र राजधानीको विषय संबैधानिक रुपमै प्रदेश सभाको भएकाले संसदमा गठित विशेष समितिले पेश गरेको प्रतिवेदनलाई व्यापक छलफल गरी सोही प्रतिवेदनका आधारमा राजधानी र नामकरणको विषय टुंग्याइनुपर्ने माग गरे। ‘उपसमितिले बैठकमा प्रतिवेदन प्रस्तुत गर्छ। त्यसमा सबै राजनीतिक दलहरूबीच छलफल गरी प्रदेशसभा भित्रैको छलफलबाट यो विषय टुंगो लगाउनु पर्छ’ प्रमुख सचेतक ढकालले भने। नेकपाका अर्का सांसद दिपेश थारूले स्थायी राजधानी र नामकारणको विषय प्रदेश सभाले नै टुंग्याउन प्रदेश सभामा माग गरे। सरकारले बिजनेस दिन नसकेका कारण चार महिनादेखि संसद बैठक चल्न सकेको थिएन। हिउँदे अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तहसम्बन्धी, विश्व विद्यालय, लोक सेवा, चलचित्रसम्बन्धी विधेयक पेश हुने छन्। प्रदेशसभाको अर्को बैठक यहीँ माघ १२ गते बस्नेछ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...