व्यावसायिक फूल खेती प्रति मानिसको आर्कण बढ्दै ।

वाणगंगा अनलाई कात्तिक ४,

घोराही र तुलसीपुरमा व्यावसायिक रुपमा फूल खेती गर्न थालिएको छ । तिहारका आगमन सँगै फूलका मालाको माग अत्याधिक बढ्ने भएकाले उत्पादन समेत वृद्धि भएको छ।

तुलसीपुरका युवा व्यवसायी विनिल के.सी, सन्दिपन रिजाल, सचिन पौडेल लगायतका सात जना युवाहरुले तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरमा व्यावसायिक फूल खेतीको सुरु गर्नु भएको छ । दाङका बजारमा विशेष गरी तिहारको बेला प्लाष्टिकका फूल तथा मालाले वर्चश्व कायम गरिरहेका बेला त्यसलाई विस्थापित गर्न आफुहरुले व्यावसायिक रुपमा फूल खेती गरेको दुर्गा बहादुर बस्नेतले बताउनु भयो । प्लाष्टिकका फूलमा लाखौँ रुपैयाँ बाहिर गइरहेको समयमा आफुहरुले उत्पादन गरेको फूलहरुले बाहिरबाट भित्रिने कृत्रिम फूलमा आयत कमी हुने उहाँको भनाइ छ । पहिलो पटक १५ हजार सयपत्रीका विरुवा रोपेकामा केही मरे पनि करिब १२ हजार बोटहरु रहेका छन्। पाँच लाखको लागतमा एक बिघा क्षेत्रफलमा फूल खेती गर्दै आएको अर्का व्यवसायी विनिल केसीले जानकारी गराँउनु भयो । यहाँ उत्पादन भएका फूलहरु दाङमा मात्र नभई बाहिर जिल्लामा पनि निर्यात गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल प्रतिकिलो २०० र प्रतिमाला १०० रुपैयाँमा बिक्री हुने केसीले बताउनु भयो । त्यसैगरी दाङको घोराहीमा क्षितिज मगरले घोराही–१३ डुमरगाँउमा व्यावसायिक फूल खेती गर्दै आउनु भएको छ । तर, पर्याप्त सिंचाइ नहुँदा र जग्गा नपाउँदा समस्या भएको उहाँको गुनासो छ । उहाँले फूल खेतीका लागि कुनै निकायबाट सहयोग नपाएको बताउनु भयो । यहाँ उत्पादन भएको फूल दाङका साथै काठमाडौं, पोखरालगायत शहरमा पठाउने गरेको उहाँले जानकारी दिनु भयो । त्यसै गरी व्यवसायी इन्द्रा बुढा मगरले ग्राहकको इच्छा अनुसार नै फूल बेच्ने गरेको बताउनु भयो । उहाँले एउटा माला १०० रुपैयाँमा बिक्री हुने बताउनु भयो । गत वर्ष उहाँले एक सिजनमा करिब छ लाख रुपैयाँको फूल बिक्री गर्नु भएको थियो । ‘अन्य पेशाभन्दा मेहनत धेरै गर्नु नपर्ने भएकाले यो पेशा अँगालेका हौँ,’ उहाँले भनिन्नु भयो ‘तर रोग लाग्ने गर्दा धेरै फूलहरु मर्ने गरेको छ।’ घोराही–१४ झिगौराका लोकेन्द्र रोका मगरले पनि व्यावसायिक रुपमा सयपत्री फूल खेती गर्नु भइको छ । उहाँले सुरुका केही वर्ष तिहारका लागि मात्र फूल खेती गर्दै आउनु भएको थियो । सुरुमा फूलको माग कति हुन्छ भनेर बजार मागलाई बुझेका लोकेन्द्रले अहिले व्यावसायिक रुपमा नै खेती गर्दै आउनु भएको छ । उहाँले जलजला पुष्प खेती फर्म दर्ता गरेर सयपत्रीको व्यावसायिक खेती गर्नु भएको छ । लोकेन्द्रले १२ कट्ठा जग्गा भाडामा लिएर खेती गर्नु भएको हो । उहाँ आगामी वर्ष करिब एक बिघामा फूल खेती गर्ने योजना बनाउनु भएको छ । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकाले जिल्लामा दशैं तिहार लगायतका पर्व एवं अन्य शुभ कार्यमा फूलको माग देखे पछि फूल खेती गर्ने थालेको बताउनु भयो । ‘दाङमा व्यावसायिक रुपमा फूल खेती कतै थिएन,’ उहाँले सुनाउनु भयो , ‘काठमाडौंमा व्यावसायिक फूल खेती गरेको देखेको थिएँ । यहाँ मैले सुरु गरेको हुँ ।’ उहाँको फार्ममा भारतको कोलकताबाट ल्याइएको अफ्रिकन मेरीगोल्ड जातको सयपत्री फूल रोपिएको छ। घोराही बजार नजिकै फूलखेती गरेकाले बजारको लागि कुनै पनि समस्या नभएको रोकाले बताउनु भयो । उहाँको फर्ममा दैनिक जसो फूलको अर्डर आउने गरेको छ । उहाँले उत्पादन गरेको फूल घोराही, तुलसीपुर, लमही, भालुवाङका बजारमा बिक्री हुँदै आएको छ। काठमाडौबाट माग भए पनि पठाउन नसकेको उहाँले बताउनु भयो । उहाँले एउटा मालालाई १०० रुपैयाँमा बिक्री गर्दै आउनु भएको छ । गत वर्ष फूल खेतीबाट सबै खर्च कटाएर एक लाख रुपैयाँ बचाएको उहाँले बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...